रास्वपा सचिवालय बैठक : समानुपातिक उम्मेदवार छनोटसम्बन्धी महत्वपूर्ण निर्णय, प्रवासमा रहेका उम्मेदवारका आकाङ्क्षीहरूको मूल्याङ्कन भर्चुअल माध्यमबाट गर्ने

समाचार
0Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बुधबार सम्पन्न भएको छ। बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै समानुपातिकतर्फका उम्मेदवार छनोट प्रक्रियासम्बन्धी पाँचवटा महत्वपूर्ण निर्णय गरेको छ।

बैठकले पुस ५ गते भएको छलफलमा विशेष कारणवश सहभागी हुन नसकेका वा अवसर नपाएका समानुपातिक उम्मेदवारका आकाङ्क्षीहरूलाई पुनः छलफल प्रक्रियामा सहभागी गराउने निर्णय गरेको छ। उनीहरूको प्रारम्भिक निर्वाचन बाहेकका सम्पूर्ण छनोट प्रक्रिया अघि बढाउने जिम्मेवारी पार्टी प्रवक्ता मनिष झा र सचिवालय सदस्य दीपक बोहोरालाई तोकिएको छ। उक्त प्रक्रियाको अनुगमन पार्टी उपसभापति डा. स्वर्णीम वाग्ले र महामन्त्री कविन्द्र बुर्लाकोटीले आवश्यकता अनुसार गर्ने निर्णय गरिएको छ।

प्रवासमा रहेका उम्मेदवारका आकाङ्क्षीहरूको मूल्याङ्कन भर्चुअल माध्यमबाट गर्ने निर्णय पनि बैठकले गरेको छ। भर्चुअल प्रक्रियाबाट बन्द सूचीमा पर्ने आवेदकहरू पुस १४ गते बिहान ९ बजेभित्र पार्टी केन्द्रीय कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था मिलाइनेछ।

त्यस्तै उम्मेदवार छनोट समितिको प्रस्ताव र उपसभापतिहरू डोलप्रसाद अर्याल तथा डा. स्वर्णीम वाग्लेसँगको सहमतिमा छनोट प्रक्रियालाई सहजीकरण गर्न केन्द्रीय समितिका सदस्यहरूलाई सहभागी गराउने निर्णय गरिएको छ। प्रारम्भिक निर्वाचनमा मतदान गर्ने सदस्यहरूको मापदण्ड निर्धारण गर्न पार्टी निर्वाचन आयोग र सूचना प्रविधि इकाईका प्रतिनिधि सम्मिलित कार्यदललाई अख्तियारी दिइएको छ।

बैठकले केन्द्रीय निर्वाचन आयोगको सदस्यमा गोकुल सापकोटा र केन्द्रीय संगठन विभागको सदस्यमा शिवराज पन्तलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *