भक्तपुरको सूर्यविनायक नगरपालिकाभित्र सञ्चालित निजी विद्यालयहरूले नगरपालिकाले निर्धारण गरेको भन्दा बढी शुल्क असुलेको पाइएमा अभिभावकहरूले हेलो सरकारमार्फत सिधै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी गर्न सक्ने भएका छन्।
नगरपालिकाले केही समयअघि संस्थागत विद्यालयहरूलाई क, ख र ग श्रेणीमा वर्गीकरण गर्दै प्रत्येक विद्यालयले लिन पाउने अधिकतम शुल्क निर्धारण गरेको थियो। सो मापदण्डविपरीत अतिरिक्त शुल्क लिएको भेटिएमा अभिभावकले नगरपालिकामा भौतिक रूपमा उपस्थित भएर वा हेलो सरकारमार्फत ११११ अर्थात चार वटा १ मा फोन गरेर सिधै उजुरी गर्न सक्ने व्यवस्था गरिएको छ। त्यसैगरी उजुरीका लागि सामाजिक सञ्जाल ट्विटरमा हेलो सरकारलाई मेन्सन गरेर तथा नागरिक एपमा रहेको ‘My Complaint’ अप्सन मार्फत पनि सिधै उजुरी गर्न सकिने व्यवस्था छ।
यसरी दर्ता गरिएको उजुरी सिधै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पुग्नेछ। त्यसपछि संघीय सरकारमार्फत उजुरी अध्ययन गरी कारबाही प्रक्रिया अघि बढाउन स्थानीय तहमा परिपत्र जाने व्यवस्था छ।
नगरपालिकाले विद्यालयहरूलाई निर्धारण गरिएको शुल्क कडाइका साथ पालना गर्न निर्देशन दिँदै तोकिएकोभन्दा बढी शुल्क असुल्ने संस्थामाथि कडा कारबाही गरिने चेतावनीसमेत दिइसकेको छ। साथै, विद्यालयहरूले तोकिएकोभन्दा बढी शुल्क लिएको भए प्रमाणसहित उजुरी गर्न अभिभावकलाई आग्रह गरेको छ।

