१४ चैत, काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछि उत्पन्न राजनीतिक घटनाक्रमबारे अन्य दलसँग संवाद गर्न जिम्मेवारी बाँडफाँट गरेको छ। आज च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालयको आकस्मिक बैठकले विभिन्न तहमा संवाद र प्रतिवादलाई व्यवस्थित गर्ने निर्णय गरेको हो।
राजनीतिक दलहरूसँग संवादको संयोजन उपाध्यक्ष विष्णु पौडेलले गर्नेछन् भने संसदीय दलहरूसँगको समन्वयको जिम्मा उपाध्यक्ष रामबहादुर थापालाई दिइएको छ। कानुनी प्रतिवादको संयोजन उपाध्यक्ष गोकर्ण विष्टले गर्नेछन्।
महासचिव शंकर पोखरेलका अनुसार संसदभित्र र बाहिर रहेका दलहरूसँग संवाद गरी सामूहिक प्रतिवादको योजना बनाइनेछ। एमालेले उक्त पक्राउलाई प्रतिशोधपूर्ण र गैरकानुनी भन्दै जेनजी आन्दोलनका घटनाबारे सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा छुट्टै छानबिन आयोग गठन गर्न माग गरेको छ।

