सूर्यविनायक नगरपालिकाले प्रहरी वृत्त जगातीलाई गस्ती तथा सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन नयाँ गाडी हस्तान्तरण गरेको छ।

नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख बासुदेव थापाले जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख तथा प्रहरी उपरीक्षक सूर्यबहादुर खड्कालाई गाडीको साँचो, ब्लूबुक तथा आवश्यक कागजपत्र हस्तान्तरण गर्नुभयो।
सो अवसरमा नगर प्रमुख थापाले जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त जगातीको भवन पूर्ण रूपमा क्षति पुगेको उल्लेख गर्दै भवन पुनःनिर्माणका लागि नगरपालिकाले १५ लाख रुपैयाँ सहयोग गरेको जानकारी दिनुभयो।

प्रहरीको भवनसँगै सबै गाडी जलेर नष्ट भएपछि गस्ती कार्यलाई सहज बनाउन ४३ लाख रुपैयाँमा गाडी खरिद गरी सहयोग गरिएको उहाँले बताउनुभयो।
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, वडाध्यक्षहरू सानुकाजी कायस्थ, प्रदीप कार्की, लक्षुराम न्यौपाने, रविन्द्र सापकोटा, पुष्पराज बस्नेत र शिवराम राउत, कार्यपालिका सदस्य तारा सापकोटा, शर्मिला लम्साल बस्नेत, सुमन परियार लगायतको उपस्थिति रहेको थियो।

