केन्द्रको बदलिँदो राजनीतिक समीकरणसँगै बागमती प्रदेशको नेतृत्व परिवर्तनको चर्चा चुलिँदा स्वास्थ्यमन्त्री किरण थापाको नाम पनि सम्भावित मुख्यमन्त्रीका रूपमा अगाडि आउन थालेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको निकट सम्बन्धका कारण थापाले पार्टीभित्र प्रभाव बढाउँदै गएको चर्चा राजनीतिक वृत्तमा छ।
२०७४ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एमालेमा प्रवेश गरेका थापा छोटो समयमै मन्त्रीसम्म पुग्न सफल भएका छन्। पछिल्लो समय स्वास्थ्य मन्त्रालयमा गरेका कामको प्रचारसँगै आफूलाई मुख्यमन्त्रीको दाबेदारका रूपमा स्थापित गर्ने प्रयास भइरहेको टिप्पणी पनि पार्टीभित्र सुनिन थालेको छ।
एमालेका लामो राजनीतिक योगदान भएका केही वरिष्ठ नेताहरू प्रदेश नेतृत्वको आकांक्षामा रहेकै बेला अपेक्षाकृत नयाँ नेताको नाम अगाडि आउनुले पार्टीभित्र नयाँ बहस सुरु भएको छ। नेतृत्व चयनमा अनुभव र संगठनात्मक योगदानभन्दा अध्यक्षसँगको निकटता निर्णायक बन्छ कि भन्ने प्रश्न पनि उठ्न थालेको छ।

