भक्तपुर । २३औँ राष्ट्रिय धान दिवसको अवसरमा भक्तपुर नागरिक समाजले उत्कृष्ट कृषक सम्मान तथा अन्तर्क्रिया कार्यक्रमू आयोजना गरी जिल्लाका सात जना उत्कृष्ट कृषकलाई सम्मान गरेको छ।
वरिष्ठ पत्रकार तथा नेपाल प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका प्रमुख चूडामणि भट्टराई प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो।
कार्यक्रमका संयोजक तथा भक्तपुर नागरिक समाजका प्रवक्ता एवं कृषि प्राविधिक केशव लुइटेल ले कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि तथा कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले कृषिमा युवाको आकर्षण बढाउन र कृषकको योगदानको उचित सम्मान गर्न यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा सूर्यविनायक नगरपालिका–८ का अध्यक्ष पुष्पराज बस्नेत, भक्तपुर ट्राफिक प्रहरी परिसरकी प्रमुख प्रहरी निरीक्षक झरना सोनार, नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाका अध्यक्ष सुन्दर शिल्पकार, नेप्सेम्याकका सहायक प्रमुख हरि सुवेदी तथा राष्ट्रिय उपभोक्ता मञ्च भक्तपुर शाखाका अध्यक्ष मनोज थापा विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रम सञ्चालन रितबहादुर श्रेष्ठ ले गर्नुभएको थियो।
यस अवसरमा कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका ठूलोबाबु श्रेष्ठ, रिखेश्वर भट्टराई, रमेश केसी प्रदीप प्रधान, केनिन्द्र अधिकारी, दयाराम मचामसी र गणेश पौडेल लाई उत्कृष्ट कृषकका रूपमा सम्मान गरिएको थियो।
कार्यक्रममा वक्ताहरूले नेपालको अर्थतन्त्रको आधार कृषि भएकाले कृषकको सम्मान, कृषि उत्पादनमा प्रविधिको प्रयोग, व्यावसायिक खेतीको विस्तार तथा युवालाई कृषि क्षेत्रमा आकर्षित गर्न राज्य, स्थानीय तह र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। साथै, धान उत्पादन वृद्धि, खाद्य सुरक्षाको सुनिश्चितता र कृषकको जीवनस्तर उकास्न प्रभावकारी नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड दिइएको थियो।

