राजनीतिमा प्रतिस्पर्धा भए पनि , विकासको सवालमा सबै जनप्रतिनिधि एक्यबद्ध भएकै कारण सर्वसम्मत निर्णय सम्भव भएको हो : नगर प्रमुख थापा

समाचार
0Shares

भक्तपुर । सूर्यविनायक नगरपालिकाको १९ औँ नगरसभा अधिवेशन गत बुधबार सफलतापूर्वक सम्पन्न भएको छ । अधिवेशनमा नगर उपप्रमुख सरिता तिम्सिना भट्टराईसहित विभिन्न विषयगत समितिका संयोजकहरूले पेश गरेका प्रतिवेदनहरू तथा नगर प्रमुख बासुदेव थापाले प्रस्तुत गरेका निर्णयार्थ प्रस्तावहरू सर्वसम्मत रूपमा अनुमोदन भएका छन् । प्रस्तुत सबै प्रस्ताव पारित भएसँगै नगरको विकास, सुशासन र जनउत्तरदायित्वलाई थप मजबुत बनाउने दिशामा महत्वपूर्ण उपलब्धि हासिल भएको नगरपालिकाले जनाएको छ ।

नगरसभामा अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा भएका विकास निर्माण, सेवा प्रवाह तथा प्रशासनिक सुधारका गतिविधिबारे विस्तृत जानकारी दिइयो । आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास र सुशासन समितिका प्रतिवेदनहरूमाथि सभासद्हरूले छलफल गर्दै सुझाव र धारणा राखेका थिए । छलफलपछि सबै प्रतिवेदन र प्रस्तावहरू साझा सहमतिका आधारमा पारित गरिएका हुन् ।

नगर प्रमुख बासुदेव थापाले राजनीतिमा प्रतिस्पर्धा स्वाभाविक भए पनि विकासका सवालमा सबै जनप्रतिनिधि एक्यबद्ध भएकै कारण सर्वसम्मत निर्णय सम्भव भएको बताए । “राजनीतिमा मतभेद हुन सक्छ, तर नगरको विकासका लागि हामी सबै एक ठाउँमा उभिएका छौँ,” उनले भने । नगर प्रमुख, उपप्रमुख तथा जनप्रतिनिधिहरूले आगामी दिनमा पनि सहकार्य, पारदर्शिता र सहभागितामूलक निर्णय प्रक्रियालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *