एमाले र कांग्रेसलाई रास्वपा सभापति रवि लामिछानेको प्रश्न : कुन संसद् ब्युँझाउन खोज्नुभएको ? जनताका मुद्दा राख्दाराख्दै माइक काट्ने संसद् ब्युँझाउन खोज्नुभएको हो ?”

समाचार
0Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद् पुनर्स्थापनाका लागि दौडधुप भइरहेको भन्दै नेपाली कांग्रेस र नेकपा एमालेप्रति कडा चेतावनी दिएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा उपस्थित हुँदै उनले कांग्रेस–एमालेले षड्यन्त्रको दृष्टिकोण त्याग्नुपर्ने बताएका हुन् ।

लामिछानेले संसद् पुनर्स्थापनाको चर्चा भइरहेको भन्दै त्यसको औचित्यमाथि प्रश्न उठाए । “म सुनिरहेको छु, संसद् पुनर्स्थापनाका लागि दौडधुप गर्न थाले रे,” उनले भने, “कुन संसद् पुनर्स्थापनाको कुरा गर्न लाग्नुभएको ? कुन संसद् ब्युँझाउन खोज्नुभएको ? जनताका मुद्दा राख्दाराख्दै माइक काट्ने संसद् ब्युँझाउन खोज्नुभएको हो ?”

उनले विगतको संसदीय अभ्यासले जनताको अपेक्षा पूरा गर्न नसकेको आरोप लगाए । जनताका वास्तविक समस्या उठ्दा आवाज दबाइने, बहस अवरुद्ध गरिने र शक्तिशाली दलको स्वार्थअनुसार मात्रै संसद् चल्ने प्रवृत्ति स्वीकार्य नहुने उनको भनाइ थियो ।

रास्वपा सभापति लामिछानेले वर्तमान राजनीतिक संकट समाधानका लागि पुरानै ढर्रामा फर्किनु समाधान नभएको जिकिर गरे । उनले जनउत्तरदायी, पारदर्शी र जवाफदेही राजनीतिक अभ्यास आवश्यक रहेको बताए ।

उनका अनुसार संसद् जनताको आवाज सुन्ने थलो हुनुपर्ने हो, तर यदि त्यही संसद् जनतामाथि नै अन्याय गर्ने माध्यम बनेको छ भने त्यसको पुनर्स्थापना अर्थहीन हुन्छ । उनले कांग्रेस र एमालेले राजनीतिक स्वार्थका लागि षड्यन्त्र गर्नुभन्दा देश र जनताको हितलाई केन्द्रमा राख्न आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *