नेकपा एमालेभित्रको वास्तविक राजनीतिक संकटलाई ११औँ महाधिवेशनले स्पष्ट रूपमा उजागर गरेको छ । लामो समयदेखि अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई व्यक्ति–केन्द्रित रूपमा चलाउँदै विधि, विधान र सामूहिक नेतृत्वको अभ्यास कमजोर बनाउँदै आए । तेस्रोपटक नेतृत्व सुनिश्चित गर्न मापदण्ड नै हटाइनु, आफ्नै सहयोगी नेताहरूलाई बेवास्ता गर्दै पद बाँडफाँट गर्नु र असन्तुष्ट आवाजलाई दबाउने प्रयास गर्नु ओली नेतृत्वको गम्भीर राजनीतिक भूल हो । त्यसैको परिणामस्वरूप आज महाधिवेशन स्थलमै ओली निकटका नेताहरू उनको साथ छाड्दै गएका छन् ।
यही पृष्ठभूमिमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्व परिवर्तन, हस्तान्तरण र पुस्तान्तरणको स्पष्ट एजेन्डासहित अघि आएका छन् । पार्टीलाई विधि र संस्थागत अभ्यासमा फर्काउने उनको अडानले असन्तुष्ट नेता–कार्यकर्तामा आशा जगाएको छ ।

