काठमाडौं । प्रधानमन्त्री शुशिला कार्कीले आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न हुने स्पष्ट पारेकी छन् राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले चुनाव सार्ने वा रोक्ने हल्ला निराधार रहेको बताउँदै निर्वाचन नै मुलुकलाई स्थिरता र निकासतर्फ लैजाने एकमात्र मार्ग भएको उल्लेख गरेकी छन्।
प्रधानमन्त्री कार्कीले जेन–जी आन्दोलनले उठाएका सवाललाई सरकारले गम्भीरतापूर्वक लिएको जनाउँदै लोकतन्त्रको समाधान सडकको हिंसामा नभई संवाद र जनमतमा हुने बताए । भदौ २३ र २४ का घटनामा ज्यान गुमाउनेलाई सहिद घोषणा गरिएको, घाइतेको उपचार तथा जीविकोपार्जन सुनिश्चित गर्ने प्रक्रिया अघि बढेको उहाँको भनाइ छ। क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोषमार्फत काम सुरु भइसकेको जानकारी पनि दिएकि छन् ।
निर्वाचन सुरक्षाका लागि एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत भई नेपाली सेनाको परिचालन सुनिश्चित गरिएको प्रधानमन्त्रीले बताए। आन्दोलनका क्रममा लुटिएका अधिकांश हतियार बरामद गरिएको र क्षतिग्रस्त प्रहरी कार्यालयहरू पुनः सञ्चालनमा आएको उहाँको भनाइ छ। निर्वाचन आयोगलाई आवश्यक बजेटसमेत सुनिश्चित गरिएको छ।
मतदाता नामावली ऐन संशोधन गरी ८ लाख ३७ हजार नयाँ युवालाई मताधिकार दिइएको उल्लेख गर्दै प्रधानमन्त्रीले युवालाई मतपत्रमार्फत आफ्ना सपना व्यक्त गर्न आह्वान गरेकी छन् उनले सुशासन, भ्रष्टाचारविरुद्ध कारबाही र आर्थिक अनुशासनमा सरकारले ठोस प्रगति गरेको दाबी गर्दै राष्ट्रिय एकताका साथ निर्वाचन सफल बनाउन सबैलाई आग्रह गरेका छन्।

