काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा महासचिव पदको प्रतिस्पर्धा सबैभन्दा चासोको विषय बनेको छ । वर्तमान महासचिव शंकर पोखरेल र उपाध्यक्ष सुरेन्द्र पाण्डेबीच कडा प्रतिस्पर्धा देखिएको हो । मंसिर २७ गतेदेखि सुरु भएको महाधिवेशनको चौथो दिन भृकुटीमण्डपमा मतदान जारी छ ।
महासचिव पदलाई अध्यक्षपछिको सबैभन्दा शक्तिशाली र प्रभावशाली पदका रूपमा हेरिँदै आएको छ । वर्तमान महासचिव शंकर पोखरेल संगठनात्मक अनुभव र निरन्तरताको पक्षमा उभिएका छन् भने उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेतृत्वमा परिवर्तन र नयाँ कार्यशैलीको एजेन्डा अघि सारेका छन् । दुवै नेता आ–आफ्ना प्यानलसहित चुनावी मैदानमा उत्रिएका हुन् ।
२०७१ सालमा सम्पन्न एमालेको नवौँ महाधिवेशनमा यही महासचिव पदमा पाण्डे र पोखरेलबीच प्रतिस्पर्धा भएको थियो । त्यतिबेला पोखरेलले ६ मतको झिनो अन्तरले पाण्डेलाई पराजित गरेका थिए । १३ वर्षपछि फेरि उही दुई नेताबीच महासचिव पदमा प्रतिस्पर्धा दोहोरिँदा राजनीतिक वृत्तमा यसलाई ‘इतिहासको पुनरावृत्ति’ का रूपमा हेरिएको छ ।

