भक्तपुरको कमलविनायकमा बुधबार राति भएको सवारी दुर्घटनामा एक देवगणको मृत्यु भएपछि नवदुर्गा जात्रा प्रभावित भएको छ। राति साढे नौ बजे भएको दुर्घटनामा टिपरले स्कुटरलाई ठक्कर दिँदा भक्तपुर नगरपालिका–८ का २६ वर्षीय स्कुटर चालक बिमल वनमालाको घटनास्थलमै मृत्यु भएको हो भने मोटरसाइकल चालक भक्तपुर–७ इनाचोका २४ वर्षीय राजेश वनमाला घाइते भएका छन्।
मृतक वनमाला नेपालकै सबैभन्दा लामो समयसम्म चल्ने जीवित नवदुर्गा देवगणमध्ये एक थिए। उनको मृत्युका कारण माघ २ गतेदेखि सञ्चालनमा रहेको नवदुर्गा (ङालाकेगू) जात्रामा अवरोध आएको छ। मृतकको शव भक्तपुर अस्पतालमा राखिएको थियो।
उचित क्षतिपूर्तिको माग गर्दै पीडित पक्षले आन्दोलन गरेपछि बिहीबार राति मृतकका परिवारलाई १६ लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको जनाइएको छ। टिपर चालकलाई नियन्त्रणमा लिइएको छ।