महासंघले स्थापना गरेको १५ हजार रूपैयाँ राशिको स्व।भगवान दास राजकुमार महर्जन स्मृति पत्रकारिता पुरस्कारद्वारा नेपाल अर्थडटकमका कार्यकारी अध्यक्षसमेत रहेका पेशल आचार्य पुरस्कृत भएका हुन् । ३२ बर्षदेखि पत्रकारितामा योगदान पुर्याउँदै आएका आचार्यले राष्ट्रिय समाचार समिति, कान्तिपुर दैनिक, नेपाल साप्ताहिक, हिमालय टाइम्स दैनिक, लगायमा काम गरिराखेका छन् ।
सोहि समारोहमा स्व।मैंयादेवी शिल्पकार स्मृति पत्रकारिताद्वारा कान्तिपुर टेलिभिजनका फोटो पत्रकार विनोद कोजु र हेरिटेज नेपाल न्यूजकी लीला श्रेष्ठ सम्मानित भएका हुन् । कोजु र श्रेष्ठलाईजनही २ हजार ५ सय रूपैयाँ नगद सहित सम्मान गरेको महासंघका उपाध्यक्ष एवम् पुरस्कार छनोट समितिका संयोजक हेमराज ढकालले बताए।
सबै पुरस्कृतहरूलाई सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदिश खरेलले दोसल्ला, सम्मान पत्र र नगद पुरस्कारसहित सम्मान गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले आजको दिनसम्म कुनै पार्टीमा प्रवेश नगरेको र पार्टी प्रवेशका लागि कुनै वार्ता र छलफल समेत नभएको स्पष्ट पारे।
आफ्ना बारेमा विभिन्न चर्चा चल्नेगरेको भन्दै उनले चुनाव लड्ने वा नलड्ने समेत कुनै निर्णय नगरेको बताए। मन्त्री खरेलले आफू र सरकारको सम्पूर्ण ध्यान तोकिएको समयमा नै निर्वाचन गर्नेमा केन्द्रित रहेको बताए।
सञ्चारमाध्यमबाट हुने गलत सूचनाले निर्वाचनलाई समेत असर गर्नसक्ने भएकाले सहज हुन उनले आग्रह गरे।
उनले फागुन २१ गते हुने निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढंगले सम्पन्न हुने भन्दै सञ्चारमाध्यमले पनि सहि सूचना प्रवाह गर्न आग्रह गरे।
कार्यक्रममा बागमती प्रदेश संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले पत्रकारले लाईक, सेयर र भ्यूजु को मात्र ख्याल नगरी सत्य, तथ्य र निष्पक्ष पत्रकारिता गर्नुपर्ने बताए । पत्रकारले प्रदेश सरकारले मूलुकको ठूलो धनराशि मात्र सिध्याएको छ भन्ने भ्रमपूर्ण समाचार मात्र नलेखी प्रदेशको संरचना आवश्यक पनि छरछैन भन्ने कुरा बुझेर तथ्यपूर्ण समाचार ल्याउनुपर्ने श्रेष्ठले स्पष्ट पारे ।
नेपाल पत्रकार महासंघ केन्द्रीय उपाध्यक्ष उमित वाकचन, मध्यपुर थिमि नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले शुभकामना मन्तव्य राखेका थिए । त्यसैगरी महासँघ भक्तपुर शाखाका पूर्वअध्यक्ष नारायणसुन्दर किलम्बु, नेपाल पत्रकार महासंघ जिल्ला शाखा काठमाडौंकी अध्यक्ष शोभा अर्याल, नेपाल पत्रकार महासंघ जिल्ला शाखा ललितपुरका अध्यक्ष रामहरि कार्कीलगायतले पत्रकारले संयमित भएर तथ्यपूर्ण र व्यवसायिक ढंगबाट पत्रकारिता गर्नुपर्ने बताए ।





