कांग्रेसमा दबाबको राजनीति: महामन्त्रीद्वयद्वारा विशेष महाधिवेशन तयारी

समाचार
0Shares

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मागलाई दबाबसहित अघि बढाउने रणनीतिअन्तर्गत भृकुटीमण्डपमा हल बुक गरेका छन् । बिहीबार बिहान महाराजगञ्जस्थित एक होटलमा भएको छलफलपछि उनीहरूको सहमतिमा पुस २७ र २८ गतेका लागि हल बुक गरिएको हो । महामन्त्री थापा निकट नेताका अनुसार नेतृत्वलाई विशेष महाधिवेशन आह्वान गर्न बाध्य पार्ने उद्देश्यले हल बुकिङ गरिएको हो ।

विशेष महाधिवेशन पक्षधर युवा नेता मनोजमणि आचार्यले पनि पुस २७ र २८ गतेका लागि भृकुटीमण्डपमा हल बुक गरिएको पुष्टि गरेका छन् । उनका अनुसार पार्टीले नियमित महाधिवेशनको कार्यतालिका कार्यान्वयन नगरेकाले विशेष महाधिवेशन अपरिहार्य बनेको हो । कांग्रेस विधानअनुसार ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाइएको तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने व्यवस्था छ ।

यसअघि युवा नेता गुरुराज घिमिरेको नेतृत्वमा २ हजार ४८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो । तर तोकिएको समय नजिकिँदा पनि पार्टीले चासो नदेखाएको आरोप विशेष महाधिवेशन पक्षधरको छ ।

महामन्त्री थापाले एकता र मेलमिलाप दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत पुस मसान्तभित्र विशेष महाधिवेशन आह्वान गर्ने बाटोमा पार्टी अघि बढेको बताएका छन् । उता सभापति शेरबहादुर देउवाले यस विषयमा छलफल गर्न महामन्त्रीद्वयलाई निवासमा बोलाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *