भक्तपुर — नेपालमा पहिलोपटक चार जनाले एकैपटक आफ्नो शरीर दान गर्ने घोषणा गरेका छन्। विश्व अंगदान दिवसको अवसरमा नेपाल अंगदाता संघको आयोजनामा शनिबार एभरेष्ट स्कूल, मिबाछें, भक्तपुरमा सम्पन्न कार्यक्रममा चार जनाले मृत्युपछि आफ्नो शरीर दान गर्ने घोषणा गरेका हुन्।
शरीर दान गर्ने घोषणा गर्नेहरूमा भक्त राजभण्डारी, कमलदेवी अमात्य राजभण्डारी, लक्ष्मीदेवी राजभण्डारी श्रेष्ठ र मदनकृष्ण श्रेष्ठ रहेका छन्। उनीहरूले मृत्युपछि आफ्नो शरीर चिकित्सा शिक्षा, अनुसन्धान तथा मानव स्वास्थ्यसँग सम्बन्धित आवश्यक प्रयोजनका लागि प्रयोग गर्न दिने प्रतिबद्धता व्यक्त गरेका हुन्। एकै कार्यक्रममा चार जनाले शरीर दान गर्ने घोषणा गर्नुले नेपालमा शरीर दानसम्बन्धी जनचेतना विस्तारमा महत्वपूर्ण सन्देश दिएको आयोजकको भनाइ छ।
ज्येष्ठ अंगदाता संघरत्न शाक्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल अंगदाता संघका अध्यक्ष ओमचरण अमात्यले अंगदान तथा शरीर दानसम्बन्धी विद्यमान भ्रम हटाउँदै यसको महत्व र आवश्यकताबारे व्यापक जनचेतना अभिवृद्धि गर्नुपर्ने बताए।
कार्यक्रममा प्रतिनिधिसभा सांसद गंगालक्ष्मी अवालले अंगदानसम्बन्धी आवश्यक नियम तथा कानुन निर्माणका लागि संसदमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरिन्। सांसद मदनकृष्ण श्रेष्ठले विद्यालय, कलेज तथा विश्वविद्यालयको पाठ्यक्रममै अंगदानसम्बन्धी विषय समावेश गरी नयाँ पुस्तामाझ जनचेतना विस्तार गर्नुपर्नेमा जोड दिए।
अंग प्रत्यारोपण विशेषज्ञ डा. पुकार श्रेष्ठले अंगदानमार्फत धेरै मानिसको जीवन बचाउन सकिने भन्दै अभियानलाई संस्थागत रूपमा बलियो बनाउनुपर्ने बताए। सो अवसरमा अंगदाता तथा अभियानमा योगदान पुर्याउने मनकारी सदस्यहरूलाई सम्मानसमेत गरिएको थियो।
फोटोहरु


