लगातार तेस्रो जितसंगै एमाले अध्यक्षमाओलीको ह्याट्रिक

राजनीति
0Shares

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनबाट १९ पदाधिकारी निर्वाचित भएका छन्। महाधिवेशनको अन्तिम मतपरिणामअनुसार अध्यक्ष पदमा ईश्वर पोखरेललाई पराजित गर्दै केपी शर्मा ओली निर्वाचित भएका छन्। यससँगै ओली एमालेको नेतृत्वमा तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।

महाधिवेशनमा कुल २२६३ प्रतिनिधि सहभागी रहेकामा ३६ जना प्रतिनिधिले मतदान गरेनन्। अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा केपी शर्मा ओलीले १६६३ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी ईश्वर पोखरेलले ५६३ मत प्राप्त गरेका छन्। मतपरिणामले एमालेभित्र ओलीको संगठनात्मक पकड बलियो रहेको संकेत दिएको छ।

१९ पदाधिकारीमध्ये २ जनाबाहेक सबै ओली पक्षका उम्मेदवार निर्वाचित भएका छन्। उपाध्यक्ष पदमा पाँच जना निर्वाचित भएका छन्। उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङ, विष्णुप्रसाद पौडेल, रामबहादुर थापा ‘बादल’ र रघुजी पन्त निर्वाचित भएका छन्। यस्तै, ईश्वर पोखरेल प्यानलबाट गोकर्ण विष्ट उपाध्यक्षमा निर्वाचित भएका छन्।

महासचिव पदमा शंकर पोखरेल निर्वाचित भएका छन्। उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र ईश्वर पोखरेल प्यानलबाट योगेश भट्टराई निर्वाचित भएका छन्।

सचिव पदमा नौ जना निर्वाचित भएका छन्। सचिवमा महेश बस्नेत, पद्माकुमारी अर्याल, शेरधन राई, यामलाल कँडेल, राजन भट्टराई, छविलाल विश्वकर्मा, खगराज अधिकारी, हिक्मत कार्की र भानुभक्त ढकाल निर्वाचित भएका हुन्।

महाधिवेशनको नतिजाले एमालेमा नेतृत्व निरन्तरता र शक्ति सन्तुलन स्पष्ट पारेको छ। अध्यक्ष ओलीले नतिजापछि पार्टीलाई एकताबद्ध बनाएर संगठन सुदृढीकरण, जनआधार विस्तार र आगामी निर्वाचनमा एमालेलाई बलियो शक्तिका रूपमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नयाँ नेतृत्वका सामु पार्टी एकता मजबुत बनाउने र जनविश्वास पुनः आर्जन गर्ने चुनौती रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *