रास्वपाले जिल्ला समितिका उम्मेदवारका लागि शुल्क तोक्यो

समाचार
0Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी जिल्ला अधिवेशनका लागि विभिन्न पदका उम्मेदवारहरूका लागि शुल्क निर्धारण गरेको छ।

जिल्ला अधिवेशन कार्यविधिअनुसार जिल्ला सभापतिको उम्मेदवारका लागि ५ हजार रुपैयाँ शुल्क तोकिएको छ। उपसभापति, सचिव, सहसचिव र कोषाध्यक्ष पदका उम्मेदवारहरूका लागि समान शुल्क निर्धारण गरिएको छ। जिल्ला सदस्य पदका उम्मेदवारले भने एक हजार रुपैयाँ तिर्नुपर्नेछ।

त्यस्तै, निर्वाचन क्षेत्र उपसंयोजक र सचिव पदका उम्मेदवारका लागि एक हजार रुपैयाँ तथा सदस्य पदका लागि पाँच सय रुपैयाँ शुल्क तोकिएको छ।

रास्वपाको विधानअनुसार जिल्ला समितिमा सभापति, उपसभापति, सचिव र सहसचिव एक–एक जना रहने व्यवस्था छ। सम्बन्धित जिल्लामा बहुल्य भएको जातीय क्लष्टर, दलित प्रतिनिधि तथा प्रतिनिधि सभा क्षेत्रबाट एक–एक जना सदस्य निर्वाचित हुनेछन्। थप रूपमा जिल्ला समितिमा तीन जना अतिरिक्त सदस्य रहने व्यवस्था पनि गरिएको छ।

समितिलाई विजोर अंकमा कायम राख्ने उद्देश्यसहित सभापतिलाई दुई वा तीन जना सदस्य मनोनयन गर्ने अधिकार दिइएको छ। साथै, जिल्ला समितिका सभापतिहरू पदेन सदस्य रहने व्यवस्था गरिएको छ।

आगामी महाधिवेशन असार ७ देखि ९ गतेसम्म गर्ने निर्णय गरिएको छ भने जिल्ला अधिवेशन जेठ २३ र २४ गतेका लागि तोकिएको छ।

जिल्ला अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरू पनि कार्यविधिमा स्पष्ट गरिएको छ। जिल्ला समितिका सबै पदाधिकारी, सल्लाहकार परिषद्, अनुशासन आयोग, विभिन्न विभाग, र्याट तथा सम्पर्क विभागका प्रतिनिधिहरू अधिवेशनमा सहभागी हुनेछन्।

त्यसैगरी पालिका समिति, जनप्रतिनिधि तथा प्रदेश सभा समिति अन्तर्गतका सबै संरचनाका सदस्यहरू पनि जिल्ला अधिवेशनका प्रतिनिधि रहने व्यवस्था गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी ले यस कार्यविधिमार्फत संगठनात्मक संरचना र अधिवेशन प्रक्रियालाई व्यवस्थित गर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *