नेकपा एमालेको जारी ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। अध्यक्ष पदका दाबेदार केपी शर्मा ओली र ईश्वर पोखरेलले बुधबार मतदान गरिसकेका छन्। शनिबारदेखि सुरु भएको महाधिवेशन अन्तर्गत बुधबार बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि केही ढिलाइ भएर प्रक्रिया अघि बढेको हो।
मतदानका लागि प्रतिनिधिहरू काठमाडौंको भृकुटीमण्डपतर्फ पुग्ने क्रम जारी छ। यसअघि तय गरिएको भृकुटीमण्डपको हल अन्य प्रयोजनका लागि बुक भएकाले एमालेले बन्द सत्र बसेकै स्थानमा मतदान गर्ने व्यवस्था मिलाएको छ।
महाधिवेशनमा २ हजार २६२ जना प्रतिनिधि सहभागी छन्। मतदानका लागि रामलक्ष्मण इनोभेसन प्रालिले निर्माण गरेको विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको छ। यसपटक ८० वटा मेसिन प्रयोगमा ल्याइएको छ। एक जना प्रतिनिधिले मतदान गर्न औसत ३५ देखि ४० मिनेट लाग्ने अनुमान गरिएको छ। मतदान सकिएलगत्तै मतगणना सुरु हुनेछ भने विद्युतीय प्रणाली भएकाले कम्तीमा दुई घण्टाभित्र नतिजा सार्वजनिक हुने जनाइएको छ।
महाधिवेशनबाट एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव, नौ सचिव र ३०१ जना केन्द्रीय सदस्य चयन हुनेछन्। अध्यक्षमा ओली र पोखरेलले आ–आफ्नो समूह बनाएर प्रतिस्पर्धा गरेका छन्।

