काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विगतका उपलब्धिको स्मरण मात्र पर्याप्त नहुने भन्दै वर्तमानका जटिल प्रश्नहरूको विश्वसनीय उत्तर दिन सक्ने वैचारिक क्षमता र राजनीतिक सिर्जनशीलता आवश्यक रहेको बताएकी छन् ।
जननेता मदन भण्डारीको ७५औँ जन्म जयन्तीका अवसरमा आइतबार काठमाडौँमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’लाई सम्बोधन गर्दै भण्डारीले यस्तो बताएकी हुन् ।
‘युवा पुस्ताका आकाङ्क्षा, डिजिटल युगका चुनौती, गुणस्तरीय शिक्षा, रोजगारी, स्वास्थ्य, सामाजिक न्याय, सुशासन, उत्पादनमुखी अर्थतन्त्र तथा राष्ट्रिय आत्मनिर्भरताका विषयमा समयानुकूल नयाँ दृष्टिकोण विकास गरी त्यसको व्यावहारिक कार्यान्वयन गर्न सक्दा नै कम्युनिस्ट आन्दोलनलाई सुदृढ र लोकप्रिय बनाउन सकिन्छ’, भण्डारीको सुझाव छ ।
उनले जनताद्वारा निर्वाचित संविधानसभाबाट निर्मित नेपालको संविधान–२०७२ विभिन्न कालखण्डमा भएका लोकतान्त्रिक आन्दोलन, राजनीतिक सङ्घर्ष तथा नेपाली जनताको लामो त्याग र बलिदानको साझा उपलब्धि भएको पनि बताइन् ।

