चितवन–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोविता गौतम प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। उनले फराकिलो मतान्तरसहित ऐतिहासिक जित हासिल गरेकी हुन्। निर्वाचित भएको प्रमाणपत्र लिएपछि पत्रकारसँग कुरा गर्दै गौतमले रास्वपाले अघि सारेको नेतृत्वअनुसार बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बन्ने बताइन्। चुनावअघि नै पार्टीले बालेनलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेकाले उनी नै प्रधानमन्त्री बन्ने दाबी पनि उनले गरिन्।
गौतमले ५९ हजार २७७ मत प्राप्त गर्दै संसदीय निर्वाचनको इतिहासमै धेरै मत ल्याउने उम्मेदवारको रूपमा कीर्तिमान बनाएकी छन्। उनकी निकटतम प्रतिस्पर्धी नेकपाकी उम्मेदवार रेनु दाहालले २० हजार ६१५ मत प्राप्त गरिन्। दुवैबीच ३८ हजार ६६२ मतान्तर रहेको छ।
निर्वाचन परिणामपछि गौतमले नेपाली जनताले अन्तिम आशाका रूपमा रास्वपालाई विश्वास गरेर मत दिएको बताइन्। उनले जनताको विश्वासलाई नतिजामुखी काममा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै जनअपेक्षाअनुसार सुशासन र परिवर्तनको दिशामा काम गर्ने बताइन्।

