२२ माघ, भक्तपुर । नेपाली कांग्रेस भक्तपुर निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार कविर राणाले आगामी निर्वाचनमा आफूविरुद्ध प्रतिस्पर्धा गर्ने सबै उम्मेदवार बराबर भए पनि अनुभव, परिपक्वता र राजनीतिक संघर्षको हिसाबले आफू अगाडि रहेको दाबी गरेका छन्।
नेपाल प्रेस युनियन, भक्तपुरको आयोजनामा बिहीबार सम्पन्न पत्रकार साक्षात्कार कार्यक्रममा बोल्दै राणाले आफूले राजनीतिमा लामो समयदेखि विभिन्न चुनौती र जिम्मेवारी भोग्दै आएको उल्लेख गरे। उनले आफ्नो प्रतिस्पर्धा कुनै एक दल वा उम्मेदवारसँग मात्र नभई सबैसँग रहेको बताए। शैक्षिक योग्यताको हिसाबले पनि आफू अन्य उम्मेदवारभन्दा योग्य रहेको दाबी गर्दै उनले यसपटकको निर्वाचनमा जित सुनिश्चित रहेको बताए। पार्टी एकढिक्का भएकाले नतिजा आफ्नो पक्षमा आउने उनको भनाइ थियो।
कार्यक्रममा नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले पार्टीभित्र सबैको मूल्य र मान्यता एउटै रहेकाले एकताबद्ध हुन नपर्ने कुनै कारण नरहेको बताए। उनले नेपाली कांग्रेस कुनै पनि हालतमा कमजोर नभएको स्पष्ट पारे। थापाले अहिले भूगोलभन्दा गुगल र सामाजिक सेवाभन्दा सामाजिक सञ्जाल प्रभावकारी बनेको अवस्था रहेको उल्लेख गर्दै नेपाली कांग्रेस सामाजिक सञ्जालको सदुपयोग गरेर चुनाव जित्न सक्षम रहेको बताए। साथै कांग्रेसको मूल लक्ष्य सामाजिक सेवामार्फत फेरि जनतामाझ फर्किनु रहेको उनले स्पष्ट पारे।
पत्रकार साक्षात्कार कार्यक्रममा पूर्व सभापतिहरू गणेशमान चक्रधर, केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, अष्ट कवेललगायत नेताहरूको उपस्थिति रहेको थियो।

