भक्तपुरको सूर्यविनायक नगरपालिकाले नगरपालिका क्षेत्रभित्र राखिने तथा प्रदर्शन गरिने विज्ञापन सामग्रीबापतको विज्ञापन कर अब आफैँ संकलन गर्ने भएको छ।
यसअघि सम्झौता भएको कम्पनीमार्फत विज्ञापन कर संकलन हुँदै आएकोमा उक्त सम्झौताको अवधि २०८३ भदौ ३१ गते समाप्त भएपछि असोज १ गतेदेखि नगरपालिकाले प्रत्यक्ष रूपमा कर संकलन गर्ने व्यवस्था गरेको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले सूचना जारी गर्दै नगरपालिका क्षेत्रभित्र विज्ञापन सामग्री राख्नुअघि अनिवार्य रूपमा नगरपालिकाबाट पूर्वअनुमति लिन तथा सूर्यविनायक नगरपालिकाको आर्थिक ऐन, २०८३ बमोजिम तोकिएको विज्ञापन कर तथा दस्तुर दाखिला गर्न सम्बन्धित सबैलाई जानकारी गराउनुभएको छ।
हाल विज्ञापन सामग्री राखी वा प्रदर्शन गरिरहेका विज्ञापनदाता, व्यवसायी, फर्म, कम्पनी, संघसंस्था तथा विज्ञापन एजेन्सीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नगर कार्यपालिकाको कार्यालयबाट अनुमति लिनुपर्नेछ।
विज्ञापनको स्थान, आकार, प्रकृति तथा अवधि खुलाएर अनुमति लिनुपर्ने र तोकिएको विज्ञापन कर सम्बन्धित वडा कार्यालयमा समेत दाखिला गर्न सकिने नगरपालिकाले जनाएको छ। आगामी दिनमा विज्ञापन सामग्री राख्न चाहनेले भने सामग्री राख्नुअघि नै अनुमति लिनुपर्नेछ।
तोकिएको ३५ दिने अवधिभित्र अनुमति नलिएका वा अनुमति नवीकरण नगरी राखिएका विज्ञापन सामग्री नगरपालिकाले हटाउने तथा सम्बन्धित विज्ञापनदाता वा व्यवसायीलाई प्रचलित कानुनबमोजिम जरिवाना तथा आवश्यक कारबाही गरिने जनाएको छ।
साथै, सार्वजनिक सडक, फुटपाथ, ट्राफिक संकेत, विद्युत् पोल तथा सार्वजनिक संरचनामा आवागमन वा सार्वजनिक सुरक्षामा असर पर्ने गरी विज्ञापन सामग्री राख्न नपाइने नगरपालिकाले स्पष्ट पारेको छ।

