- प्रकाशचन्द्र खड्का
केहि दिन अगाडी एउटा बैंकमा कामको सिलसिलामा पुगेको थिए । त्यहाँ सामाजिक सुरक्षा भत्ता लिन आएका वृद्द बुबाहरु, आमाहरु तथा हजुरबा , हजुरआमाहरुको भिड थियो। कोहि नागरिकता र अन्य आवश्यक कागजात बोकेर आएका थिए,कोहि बायोमेट्रिक प्रक्रियाका लागि पालो कुरिरहेका थिए। कसैलाई आफन्तले डोर्याएर ल्याएका थिए भने कोहि लौरो टेक्दै आफै आएका थिए। बाहिर पानी परिरहेको थियो। कोहि सार्वजनिक बस चढेर आएका थिए, कोहि हिडेरै। कसैको अनुहारमा थकान थियो , कसैको आखामा अन्योल तर सबैका आखामा एउटा समान अपेक्षा देखिन्थ्यो राज्यले दिएको आफ्नो अधिकार प्राप्त गर्ने।
म पनि त्यहि बैंकमा दिवंगत मेरी आमाको सामाजिक सुरक्षा भत्ता बन्द गर्न मृत्यु दर्ता लगायत वडा कार्यालयको सिफारिस पत्र पेश गर्नुपर्ने थियो। मेरो काम फरक थियो तर त्यहाँ देखेको दृश्यले मेरो मनमा एउटा गम्भीर प्रश्न उब्जायो, “हाम्रो राज्यको सेवा नागरिकसम्म पुग्ने हो कि नागरिक राज्यको सेवा लिन दौडिनु पर्ने हो ? ” यो प्रश्न एउटा बैंकको भिड वा सामाजिक सुरक्षा भत्ता लिन आउने जेष्ठ नागरिकको कठिनाईसंग मात्र सम्बन्धित छैन। यो हाम्रो सार्वजनिक सेवा प्रणाली , स्थानीय सरकारको प्राथमिकता र नागरिकप्रतिको उत्तरदायित्त्वसंग जोडिएको प्रश्न हो।
हाम्रो चाँगुनारायण नगरपालिकाका वडाकार्यालयहरु नागरिकको घरदैलोबाट त्यति टाढा छैनन्। जनप्रतिनिधि छन्, कर्मचारी छन् , प्रशासनिक संयन्त्र छ। कम्प्युटर र प्रविधिको पहुच पनि छ। स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो भन्ने मान्यता पनि स्थापित भैसकेको छ। त्यसो भए जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ताका लागि आवश्यक बायोमेट्रिक , कागजात प्रमाणीकरण र अभिलेखीकरणजस्ता सेवा वडा वडामा , अझ सम्भव भए घरदैलोमा पुगेर किन दिन सकिदैन ? महिनामा एकदिन निश्चित गरेर एउटा टोली जेष्ठ नागरिकका घर घरमा पुग्न सक्दैन ? वडा कार्यालय , बैंक , स्वास्थ्य सस्था र सम्बन्धित शाखाबीच समन्वय गरेर यस्तो सेवा संचालन गर्न सकिदैन ?
जसरी चुनावका बेला उम्मेद्वारहरु नागरिकका घरदैलो पुग्छन , त्यसरी नै चुनाव सकिएपछि पनि नागरिककै घरदैलोमा जनसेवा पुग्न सक्दैन ? चुनावी भाषण र प्रतिवद्दतामा जेष्ठ नागरिकलाई सम्मान गर्ने तथा घरदैलो सेवा दिने कुरा धेरै सुनियो, सुन्दैछौ, आगामी चुनावमा पनि पक्कै सुनिन्छ होला। ती प्रतिवद्दता भाषण र अपिलमा मात्र सीमित नरही व्यवहारमा देखिए कति राम्रो हुन्थ्यो।
प्रतिवद्दता गरौ एउटी अशक्त हजुरआमा झरी वादल , हिलो धुलो छिचोल्दै बैंक सम्म आउन नपरोस। एउटा वृद्द बुबाले लौरो टेक्दै लामो लाइनमा बस्न नपरोस। छोराछोरीले काम छाडेर बुबाआमालाई बैंकसम्म ल्याउनु पर्ने बाध्यता नहोस। सार्वजनिक यातायातको असुविधा , भीडभाड लामो पर्खाई र कागजातसम्बन्धी झन्झटले वहाहरुको आत्मसम्मानमा थप बोझ नथपियोस। बरु वडा कार्यालयको सानो टोली वहाहरुको घरमा पुगोस। कागजात हेरेर , बायोमेट्रिक लिएर , अभिलेख अध्यावधिक गरेर आवश्यक जानकारी देओस। आवश्यक परे स्वास्थ्यकर्मीले स्वास्थ्य अवस्था बुझोस् , सामाजिक परिचालकले थप आवश्यकताबारे जानकारी लेओस। अनि फर्किने बेलामा त्यो टोलीले यति मात्र भंदियोस “बुबा आमा , अब तपाईलाई यसका लागि बैंक सम्म आउनु पर्दैन। ” त्यो क्षण ती वृद्द आखामा आउने खुसीको मूल्य कति होला ? त्यो खुसि सायद कुनै ठूलो भवनको आयतन , कुनै सडकको लम्बाई र कुनै उद्घाटन समारोहको उत्सवभन्दा धेरै गुणा माथि हुन्छ होला। वृद्द आमाको अन्तरमनबाट निस्कने त्यो अभिव्यक्तिले पक्कै पनि भन्नेछ ” बाबु, भगवानले तिमीहरुको सधै राम्रो गरुन है। ” त्यहि अभिब्यक्तिपुर्ण वाक्य नै जनप्रतिनिधिका लागि जनसेवा वापदको ठूलो पुरस्कार हुनसक्छ।
विकासको मापन भौतिक संरचना मात्र होइन। नगरपालिकाको विकासमा सडक, भवन , ढल , खानेपानी , पार्क तथा अन्य निर्माणको आफ्नै महत्त्व छ। ती आवश्यक छन्। नागरिकको दैनिक जीवन सहज बनाउन भौतिक पूर्वाधारको उल्लेख्य भूमिका छ। तर अब हामीले विकासको परिभाषालाई अझ फराकिलो ढंगले बुझ्नु पर्छ किनकी विकासको मापन देखिने संरचना निर्माणमा मात्र पर्याप्त हुदैन । नागरिकले राज्यको उपस्थिति, सम्बेदनशिलता र सहयोगलाई आफ्नो जीवनमा अनुभूति गर्न पाउनु पनि विकास हो। यसैको सेरोफेरोमा अर्को प्रश्न खडा हुन्छ त्यो हो , चाँगुनारायण नगरपालिका कति ठूलो देखिन्छ भन्ने मात्र होइन , नागरिकले नगरपालिकाको सेवा कति नजिकबाट अनुभूति गर्न पाएका छन् ? त्यो महत्त्वपूर्ण हो। नगरपालिका भवनमा सेवा उपलब्ध छ भनेर मात्र पुग्दैन। सेवा नागरिकको घरसम्म पुगेको अनुभूति हुनुपर्छ। बिशेषगरी अशक्त , आर्थिक रुपमा कमजोर तथा घरबाट बाहिर निस्कन कठिनाई हुने नागरिकका लागि सेवा लिन केन्द्र सम्म पुग्नु आफैमा ठूलो चुनौती हो।
आजको डिजिटल युगमा धेरै काम घरबाटै गर्न सकिन्छ। अभिलेख डिजिटल बनाउन सकिन्छ । वडा र नगरपालिकाबीच सूचना आदान प्रदान सकिन्छ। मोबाइल टोली परिचालन गर्न सकिन्छ। बैंक तथा वित्तिय सस्थासँग समन्वय गरेर सेवा प्रवाहलाई सरल बनाउन सकिन्छ। तसर्थ सबैभन्दा कमजोर अवस्थामा रहेका जेष्ठ नागरिकका लागि प्रविधिको प्रयोग गर्दै सेवा घरदैलोमा पुर्याउने प्रयास किन नगर्ने ? यो असम्भव कार्य होइन। आवश्यक छ योजना , संयोजन र ईच्छा शक्तिको। स्थानीय तहले आफ्नो क्षेत्रभित्र रहेका जेष्ठ नागरिकको वर्गीकरण गर्न सक्छ। अति अशक्त , अपांगता भएका तथा नियमित रुपमा सेवा लिन केन्द्रसम्म पुग्न नसक्ने नागरिकको छुट्टै अभिलेख तयार गर्न सकिन्छ र यसका आधारमा प्राथमिकता सहित घरदैलो सेवा संचालन गर्न सकिन्छ।
हरेक वर्ष विभिन्न वडाबाट जेष्ठ नागरिकलाई तीर्थयात्रामा लैजाने कार्यक्रम संचालन हुन्छन। धार्मिक आस्था र तीर्थाटनको आफ्नै महत्त्व छ। जेष्ठ नागरिकलाई घुमाउने , सम्मान गर्ने र सामाजिक रुपमा सक्रिय बनाउने उद्देश्य पक्कै पनि सकारात्मक छ तथापी खर्चको प्राथमिकता पनि सोचौ। यदि यस्ता कार्यक्रममा खर्च हुने रकमको केहि हिस्सा जेष्ठ नागरिकको स्वास्थ्य बीमा , पौष्टिक खाना , घरदैलो स्वास्थ्य जाच , नियमित औषधि सहयोग , आखा तथा दात परीक्षण वा महिनामा कम्तिमा एक दिन घरमै पुगेर स्वास्थ्य अवस्था बुझ्ने कार्यक्रममा लगाउन सकियो र मनोसामाजिक सहयोगलाई स्थानीय कार्यक्रमको हिस्सा बनाउन सके त्यसको प्रभावले दीर्घकालीन बाटो तय गर्छ। बाहिरका तीर्थस्थलमा ईश्वर खोज्नुभन्दा पहिले आफ्नै नगरपालिकाका वृद्द आमाबुबाको अनुहारमा ईश्वरको मुस्कान देख्न सकिन्थ्यो। तीर्थ जानु र तीर्थ लानु नराम्रो हुदैहोइन तर एउटा अशक्त आमाको घरमा स्वास्थ्यकर्मी पुग्नु पनि तीर्थ जत्तिकै पवित्र काम हुनसक्छ, एउटा वृद्द बुबाको हात समातेर बुबा , तपाईलाई केहि समस्या छ कि ? भनेर सोध्नु पनि ठूलो सेवा हुन सक्छ। कहिलेकाही नागरिकलाई आर्थिक सहयोग भन्दा नागरिकको आफ्नो अवस्था बुझिदिएको कुराले बढी महत्त्व राख्छ।
यो कुनै आरोप होइन, न त् राजनीतिक आलोचना नै। यो त् चाँगुनारायण नगरपालिकाप्रति विश्वास राख्ने एक नागरिकले देखेको दृश्यबाट सृजित रचनात्मक सुझाव हो। यो कार्य सानो देखिएला तर जनताको मनमा यसको सकारात्मकता ठूलो हुनसक्छ। सायद विकासको सबैभन्दा सुन्दर पक्ष, जहाँ नागरिकले सरकार खोज्दै जानु नपर्ने , त्यहा सरकारले नागरिक खोज्दै उनीहरुको घरको दैलोसम्म आएर “आमा, तपाईले राज्यको सेवा लिन उता आउनु पर्दैन अब राज्य तपाईको घरमै आउछ। ” यति भन्नको लागि त्यो दिन कुनै ठूलो उद्घाटनको रिबन काट्नु पर्दैन र ठूलो भाषण पनि गर्नु पर्दैन। अन्तत: त्यो दिनको जनप्रतिनिधिको अभिव्यक्तिले एउटी वृद्द आमाको आखाबाट झर्ने कृतज्ञका दुई थोपा आसु र मुखबाट निस्कने आशिरवचनले भन्नेछ “हो , अब बल्ल सरकार हाम्रो घरमा आएको रहेछ , तिम्रो किर्ति चारैतिर फैलियोस ”
चाँगुनारायण नगरपालिका -९ , ताथली , भक्तपुर

