काठमाडौं । नेपाली कांग्रेसका सांसद खड्कबहादुर शाहीले सरकारले ‘दिनदहाडै हैकमवाद’ चलाएको आरोप लगाउँदै मुगुवासीसहित सम्पूर्ण नेपालीलाई आन्दोलनमा उत्रिन आह्वान गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले सरकारको कार्यशैलीका कारण गरिब र निमुखा नागरिक आत्महत्यासम्म पुग्न बाध्य भएको दाबी गरे।
गणेश नेपालीको मृत्यु प्रकरण उल्लेख गर्दै शाहीले आफू बिहीबार साँझ वीर अस्पताल पुगेको र चिकित्सकहरूले त्यतिबेलै उनको बाँच्ने सम्भावना ९५ प्रतिशत नरहेको जानकारी दिएको बताए। उनका अनुसार गणेश नेपालीको राति नै मृत्यु भइसके पनि सरकारले बिहानसम्म त्यसको औपचारिक घोषणा नगरी ‘नाटक’ गरेको आरोप लगाए।
शाहीले गृहमन्त्रीसहित सरकारी अधिकारीहरू रातभरि अस्पताल र विमानस्थल धाएर ‘स्टन्टबाजी’मा लागेको टिप्पणी गर्दै उपचारभन्दा प्रचारमा केन्द्रित भएको आरोप लगाए। आफू, स्वास्थ्यमन्त्री र अस्पतालका चिकित्सकबीच भएको छलफलमा मृत्यु भइसकेपछि पनि किन घोषणा गरिएन भन्ने प्रश्न उठाएको उनले बताए।
सरकारले वास्तविकता लुकाएर जनतालाई भ्रममा पार्न खोजेको आरोप लगाउँदै शाहीले घटनाबारे निष्पक्ष छानबिन, जिम्मेवारमाथि कारबाही र पीडित परिवारलाई न्याय दिन सरकारसँग माग गरेका छन्।

