सूर्यविनायक नगर अस्पताललाई अत्याधुनिक ट्रमा सेन्टरको रुपमा विस्तार गर्दैछौँ : मेयर थापा

समाचार
0Shares
भक्तपुर — सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले जगातीमा सञ्चालनमा रहेको सूर्यविनायक नगर अस्पताललाई अत्याधुनिक ट्रमा सेन्टरका रूपमा विस्तार गर्ने योजना अघि बढाइएको बताएका छन्।

नगर क्षेत्रको समग्र विकास र भावी योजनाबारे नेपाल प्रेस सोसाइटीसँग कुरा गर्दै मेयर थापाले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरे। उनले अस्पतालका लागि वार्षिक १८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिँदै आगामी दिनमा विशेषज्ञ सेवा थप विस्तार गरिने बताए।

मेयर थापाका अनुसार अरनिको राजमार्गसँगै अस्पताल रहेको कारण सडक दुर्घटनाका घाइतेलाई तत्काल उपचार उपलब्ध गराउन ट्रमा सेवा अत्यन्त आवश्यक भएको हो। “अरनिको राजमार्गसँगै नगर अस्पताल जोडिएकाले हाइवेमा दुर्घटना हुँदा मृत्युबाट घाइतेलाई जोगाउनको लागि पनि यो सेवा दिनु अत्यावश्यक छ। काठमाडौंसम्म बिरामीलाई लैजान टाढा हुने भएकाले अकालमा हुने मृत्युलाई नियन्त्रण गर्न हामीले प्रयत्न गरिरहेका छौं,” उनले भने।

उनले सूर्यविनायक नगर अस्पताल अहिले नगरबासीमात्र नभई भक्तपुरसहित उपत्यकाका विभिन्न क्षेत्रका नागरिकका लागि भरोसायोग्य स्वास्थ्य केन्द्रका रूपमा विकास हुँदै गएको दाबी गरे। “यो अस्पताल नगरबासीलाई मात्र नभई अन्य सबैलाई सेवा दिँदै आइरहेका छौं। बाहिर उपचार गर्दा दश–पन्ध्र लाख लाग्ने सेवा हामीले सर्वसुलभ रूपमा एक–दुई लाखमै उपचार गराइरहेका छौं,” मेयर थापाले बताए।

नगरपालिकाले पछिल्लो समय स्वास्थ्य पूर्वाधार, उपकरण तथा जनशक्ति व्यवस्थापनमा लगानी बढाउँदै आएको छ। स्थानीयवासीले पनि नगर अस्पतालमा विस्तार हुँदै गएको सेवा र सहज उपचार व्यवस्थाले निजी अस्पतालप्रतिको निर्भरता कम हुँदै गएको बताएका छन्।

नगरपालिकाले ट्रमा सेन्टर सञ्चालनमा आएपछि दुर्घटनापछि हुने आकस्मिक मृत्यु दर घट्ने र भक्तपुरमै गुणस्तरीय आकस्मिक उपचार सेवा उपलब्ध हुने विश्वास लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *