भक्तपुरको सूर्यविनायक नगरपालिकाको आयोजना तथा नगर खेलकुद विकास समितिको व्यवस्थापनमा “सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुटसल प्रतियोगिता–२०८३” आजदेखि सुरु भएको छ।
प्रतियोगितामा जिल्लाका विभिन्न क्लबका करिब २८ वटा टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ। प्रतियोगिता आजदेखि सुरु भई यही २६ गते हुने फाइनल खेलसम्म सञ्चालन हुने कार्यक्रम रहेको छ।
उद्घाटन कार्यक्रममा बोल्दै सूर्यविनायक नगरपालिकाकी उपप्रमुख भट्टराईले खेल क्षेत्रले युवापुस्ता तथा बालबालिकालाई अनुशासित, सक्रिय र सकारात्मक जीवनशैलीतर्फ प्रेरित गर्ने बताउनुभयो। उहाँले नगरपालिकाले खेलकुदको विकासमार्फत समग्र मानवीय विकास, सामाजिक सद्भाव तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न निरन्तर काम गरिरहेको उल्लेख गर्नुभयो। साथै सहभागी सम्पूर्ण खेलाडीलाई सफलताको शुभकामना व्यक्त गर्नुभयो।
फुटसल आधुनिक तथा लोकप्रिय इनडोर खेलका रूपमा विश्वभर तीव्र रूपमा फैलिरहेको खेल मानिन्छ। सामान्यतया पाँच–पाँच खेलाडीबीच खेलिने यस खेलले खेलाडीमा तीव्र निर्णय क्षमता, समन्वय, अनुशासन, सहकार्य तथा शारीरिक तन्दुरुस्ती विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। सीमित स्थानमा छिटो गतिमा खेलिने भएकाले फुटसलले युवाहरूलाई सक्रिय, ऊर्जाशील र टीमवर्कमा अभ्यस्त बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नगरपालिकाले यस्ता खेलकुद कार्यक्रममार्फत युवाहरूलाई सकारात्मक गतिविधिमा संलग्न गराई समाजमा स्वस्थ, सिर्जनशील तथा जिम्मेवार नागरिक निर्माण गर्ने उद्देश्य राखेको जनाएको छ।

