राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट निर्वाचित भक्तपुर–२ का सांसद राजीब खत्रीले मध्यपुरथिमि क्षेत्रको कमेरोटार जग्गा एकीकरण आयोजनामा गम्भीर अनियमितता भएको आरोप लगाउँदै प्रधानमन्त्री बालेन साहसमक्ष उच्चस्तरीय छानबिनको माग गरेका छन्।
प्रधानमन्त्रीसँगको भेटमा सांसद खत्रीले सो आयोजना जनतालाई लाभ दिनुपर्नेमा उल्टै पीडित बनाउने माध्यम बनेको दाबी गरे। उनका अनुसार पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको आयोजना २३ वर्ष बितिसक्दा पनि अलपत्र अवस्थामा रहेको छ र अझै करिब ४३ प्रतिशत काम बाँकी छ।
खत्रीले डिपिआरअनुसार १५६० रोपनी क्षेत्रफलमा सञ्चालन भएको आयोजनामा ४ प्रतिशत सार्वजनिक जग्गा छुट्याउनुपर्ने प्रावधान रहे पनि विभिन्न बहानामा ती जग्गा बिक्री गरिएको आरोप लगाए। साथै, ११ जनाको दरबन्दी रहेको ठाउँमा २० जना कर्मचारी राखिएको र उनीहरूको कार्यसम्पादनबारे कुनै पारदर्शिता नभएको पनि उनले बताए।
उनका अनुसार सुरुआतमा नगर विकास प्राधिकरणले सञ्चालन गरेको आयोजना हाल मध्यपुरथिमि नगरपालिकाको अधीनमा रहेको भए पनि औपचारिक हस्तान्तरण नभएको अवस्था छ। उपभोक्ता समितिमा भने २३ वर्षदेखि एउटै समूहको वर्चस्व कायम रहेको उनले उल्लेख गरे।
आयोजनामा भएका टेन्डर प्रक्रियामा समेत अनियमितता भएको दाबी गर्दै उनले गुणस्तरहीन पूर्वाधार निर्माणका कारण हरेक वर्ष डुबान, खानेपानी अभाव, विद्युत् समस्या तथा सडक क्षति जस्ता समस्या देखिएको बताए। सार्वजनिक खुला स्थानका लागि छुट्याइएको जग्गासमेत बिक्री गर्ने तयारी भइरहेको स्रोतले जनाएको उनको भनाइ छ।
यसैगरी, पार्क निर्माणमा करोडौँ खर्च भएको दाबी गरिए पनि त्यसको विश्वसनीयता नभएको भन्दै उनले समग्र आयोजनामा आर्थिक अनियमितता भएको आशंका व्यक्त गरे।
सांसद खत्रीले विगतदेखि हालसम्मका नगर विकास प्राधिकरणका पदाधिकारी, उपभोक्ता समिति तथा सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिहरूमाथि छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्। उनले “अब यो देश लुटाहाहरूको स्वर्ग बन्न नसक्ने” भन्दै कडा कदम चाल्न सरकारलाई आग्रह गरेका छन्।

