भक्तपुर। भक्तपुरमा जारी बिस्का जात्राको सातौँ दिन यस वर्ष विशेष रूपमा महिलाको सक्रिय सहभागिताले नयाँ इतिहास रचेको छ। परम्परागत रूपमा पुरुषहरूले मात्र अजिमाको खट (रथ) तान्ने चलन रहँदै आएकोमा यसपटक महिलाहरू अग्रसर भई नकिन्जु खचा (अजिमाको रथ) तानेर समावेशी सन्देश दिएका छन्।
स्थानीय आमा, दिदीबहिनी तथा चेलीहरूको उत्साहजनक उपस्थितिले जात्रामा नयाँ ऊर्जा थपेको छ भने दर्शकहरूका लागि पनि यो दृश्य आकर्षणको केन्द्र बनेको छ। महिलाहरूको सक्रियता र आत्मविश्वासले परम्परागत सोचमा परिवर्तनको संकेत गरेको स्थानीयवासी बताउँछन्।
यससँगै भक्तपुरका दाजुभाइहरूले पनि महिलाहरूलाई साथ दिएर हौसला प्रदान गरेका देखिएको छ। महिलाहरूले रथ तान्दा देखिएको एकता र उत्साहले जात्राको माहोल अझै उल्लासमय बनेको छ।
महिलाको बढ्दो सहभागिताले बिस्का जात्रालाई अझ समावेशी, उत्साहपूर्ण र आकर्षक बनाउने विश्वास गरिएको छ। साथै, आगामी वर्षहरूमा अझ धेरै महिलाको सहभागिता बढ्ने अपेक्षा गरिएको छ।

