भक्तपुर, असार २१ — वातावरण संरक्षण मञ्च भक्तपुरको आयोजनामा सञ्चालन भएको दुईदिने ‘खेर जाने प्लास्टिकबाट ढकी बुनाइ’ तालिम शनिबार सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा मञ्चका अध्यक्ष न्हुछेबहादुर प्रजापतिले घरबाट फोहोरका रूपमा निस्किने प्लास्टिकलाई उपयोगी घरेलु सामग्रीमा रूपान्तरण गरी व्यावसायिक रूपमा अघि बढाउन सके आम्दानी वृद्धि हुनुका साथै जलवायु परिवर्तन र वातावरण प्रदूषण न्यूनीकरणमा समेत योगदान पुग्ने बताए। उनले महिलाहरू यस्ता सीपमूलक तालिममार्फत स्वरोजगारतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए।
सहआयोजक कौशलटार महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सावित्री थापाले प्लास्टिकजन्य फोहोरको पुनःप्रयोगबाट घरायसी उपयोगका सामग्री उत्पादन गर्न सके वातावरण संरक्षणमा टेवा पुग्ने बताए।
मञ्चका संस्थापक अध्यक्ष जयराम थापाले मञ्चले विभिन्न समयमा सञ्चालन गरेका वातावरण संरक्षणसम्बन्धी गतिविधिबारे जानकारी गराउँदै तालिमको महत्त्वमाथि प्रकाश पारे।
तालिमका प्रशिक्षक सरस्वती भेलेले खेर गएका प्लास्टिकबाट तयार गरिएका घरायसी सामग्रीको बजारमा राम्रो मूल्य पाउने भएकाले रोजगारी सुनिश्चित गर्न यस कार्यलाई निरन्तरता दिन सहभागीलाई आग्रह गरे।
मञ्चकी उपाध्यक्ष सहना पसखल, प्रशिक्षार्थी हरिलक्ष्मी श्रेष्ठलगायतले पनि तालिमका अनुभव साझा गरेका थिए तालिममा २५ जना महिलाको सहभागिता रहेको थियो भने तालिम सञ्चालनका लागि नारी सेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड र कौशलटार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहयोग गरेका थिए।

