सहमति, सुशासन र दिगो विकासतर्फ अग्रसर सूर्यविनायक नगरपालिका

फोटो फिचर समाचार
0Shares

स्थानीय सरकार जनताको सबैभन्दा नजिकको शासन प्रणाली हो, जहाँ नागरिकका दैनिक आवश्यकता, विकासका आकांक्षा र समग्र जीवनस्तर सुधारका सवालहरू प्रत्यक्ष रूपमा सम्बोधन गरिन्छन्। यही मर्मलाई आत्मसात् गर्दै भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका सहमति, सहकार्य र सुशासनको अभ्यासमार्फत स्थानीय शासनको उदाहरणीय नमुना बन्दै अघि बढिरहेको छ।

स्थापना भएको करिब एक दशकको अवधिमा सूर्यविनायक नगरपालिकाले विकास निर्माण, प्रभावकारी सेवा प्रवाह र संस्थागत सुदृढीकरणमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। प्रारम्भदेखि नै नगरपालिकाले राजनीतिक मतभेदलाई विकासको बाधा बन्न नदिई साझा लक्ष्य र सामूहिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको देखिन्छ। यही कारण सूर्यविनायक नगरपालिकाको निर्णय प्रक्रिया सहमतिमूलक अभ्यासका लागि परिचित बन्दै गएको छ।

यसको स्पष्ट उदाहरण नगर सभाबाट देखिन्छ। नगरपालिका स्थापना भएयता हालसम्म १९९ वटा कार्यपालिका बैठक र १९ वटा नगर सभा अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न हुनु स्थानीय शासन प्रणालीमा दुर्लभ र प्रेरणादायी उपलब्धि हो। यी तथ्यांकहरूले जनप्रतिनिधिहरूबीचको एकता, आपसी सम्मान र साझा प्रतिबद्धताको स्तरलाई प्रस्ट पार्छन्।

नगर प्रमुख बासुदेव थापाको नेतृत्वमा “राजनीतिमा प्रतिस्पर्धा र विकास निर्माणमा ऐक्यबद्धता” भन्ने मूल मन्त्रलाई व्यवहारमा उतारिएको देखिन्छ। राजनीतिक विचार फरक भए पनि विकास र जनसेवाका सवालमा सबै प्रतिनिधि एकै ठाउँमा उभिनु सूर्यविनायकको बलियो पक्ष बनेको छ। यही सहमतिमूलक संस्कारका कारण विकास योजनाहरू अवरोधविहीन रूपमा अघि बढ्न सकेका छन्।

पछिल्ला वर्षहरूमा नगरपालिकाले सडक, पुल, खानेपानी, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, वातावरण संरक्षण, विपद् व्यवस्थापन, डिजिटल सेवा प्रवाह तथा सामाजिक विकासका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ। जनप्रतिनिधि, कर्मचारी र नागरिकबीचको प्रभावकारी समन्वयले योजनाहरू समयमै सम्पन्न हुनुका साथै सेवा प्रवाहमा पारदर्शिता र प्रभावकारिता वृद्धि भएको छ।

सहमतिको राजनीति केवल निर्णय प्रक्रियामा सीमित नरही प्रशासनिक क्षमता अभिवृद्धि र जनविश्वास सुदृढीकरणमा समेत महत्वपूर्ण आधार बनेको छ। राजनीतिक स्थायित्व कायम हुँदा विकास निर्माणका कामहरू तीव्र गतिमा अघि बढ्न सक्ने तथ्य सूर्यविनायकको अभ्यासले प्रमाणित गरेको छ।

नगर प्रमुख थापाले सर्वसम्मत निर्णय प्रक्रियामा निरन्तर साथ दिने नगरवासी, जनप्रतिनिधि, कर्मचारी तथा सबै सरोकारवाला निकायहरूप्रति आभार व्यक्त गर्नुभएको छ। बाँकी कार्यकालमा पनि यही विश्वास, सहयोग र सहकार्य कायम रहने अपेक्षासहित सूर्यविनायक नगरपालिका सुशासन, समावेशी विकास र जनमुखी सेवाको उदाहरणीय स्थानीय सरकारका रूपमा स्थापित हुँदै जाने संकेत देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *