राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले आइतबार स्थानीय तहदेखि प्रदेशसम्मका अधिवेशन र प्रतिनिधि व्यवस्थापनसम्बन्धी कार्यक्रम समेटेर ५ असारसम्मको तालिका अनुमोदन गरेको हो। रास्वपाको प्रथम महाधिवेशन ७ देखि ९ असारसम्म चितवन मा आयोजना हुने भएको छ।
निर्वाचन आयोगका उपप्रमुख राम गुरुङ का अनुसार महाधिवेशन तयारीअन्तर्गत निर्वाचन समिति गठन, प्रतिनिधि नामावली संकलन, अधिवेशन प्रतिवेदन तयारीलगायतका कामका लागि समयसीमा निर्धारण गरिएको छ। कार्यतालिकाअनुसार १५ जेठभित्र ७७ जिल्लासहित सातै प्रदेशमा निर्वाचन समिति गठन गरिसक्नुपर्नेछ भने २० जेठसम्म स्थानीय तथा जिल्ला अधिवेशनका प्रतिवेदन संकलन गरिनेछ।
महामन्त्री कवीन्द्र बुर्लाकोटी ले वडा र पालिका अधिवेशन अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्। उनका अनुसार २३ र २४ जेठमा देशभर जिल्ला अधिवेशन सम्पन्न हुनेछन् भने २५ जेठसम्म महाधिवेशन प्रतिनिधिको नामावली पेश गर्नुपर्नेछ। प्रदेश अधिवेशनको तालिकाअनुसार बागमती प्रदेशमा २६ जेठ, कोशीमा २७, मधेशमा २८, गण्डकीमा २९, लुम्बिनीमा ३०, कर्णालीमा ३१ जेठ तथा सुदूरपश्चिममा १ असारमा अधिवेशन गरिनेछ।
पार्टीले ७७ जिल्लाबाट कम्तीमा २ हजार ५ सय प्रतिनिधिको सहभागिता सुनिश्चित गर्ने जनाएको छ। महाधिवेशन तयारीका लागि प्रतिनिधि व्यवस्थापन, प्रचारप्रसार, आर्थिक व्यवस्थापन, सूचना प्रविधि, सुरक्षा, स्वास्थ्य, आवास तथा भोजन, सांस्कृतिक कार्यक्रम र विधान संशोधनलगायत विभिन्न उपसमितिहरू गठन गरी काम अघि बढाइएको छ।
रास्वपाले महाधिवेशनलाई पार्टीको विस्तार, जनअपेक्षा सम्बोधन, सुशासन र समृद्धिको एजेन्डालाई संस्थागत गर्ने अवसरका रूपमा लिएको जनाएको छ। असार ७ गते उद्घाटन सत्रपछि ८ र ९ असारमा संगठनात्मक तथा नीतिगत कार्यक्रम सम्पन्न गरिने तयारी छ।
यस्तै, पार्टी स्थापना भएको चार वर्षपछि हुन लागेको पहिलो महाधिवेशनबाट मूल नेतृत्व परिवर्तन नहुने संकेत पनि देखिएको छ। महामन्त्री बुर्लाकोटीले पार्टी सभापतिमा रवि लामिछाने नै कायम रहने बताएका छन्। साथै वरिष्ठ नेताको भूमिकामा बालेन्द्र शाह निरन्तर रहने उल्लेख गरिएको छ।
उनले पार्टीको वर्तमान संरचना र सरकार सञ्चालनको सन्तुलनलाई ध्यानमा राख्दै शीर्ष नेतृत्व परिवर्तनको सम्भावना नरहेको बताए। यद्यपि अन्य पदाधिकारी पदहरूमा भने प्रतिस्पर्धा हुन सक्ने संकेत देखिएको छ।

