जेन–जीको बलिदानले अन्तरिम सरकार सम्भव बन्यो,अब भ्रष्टाचार नियन्त्रण अनिवार्य

अन्तरवार्ता
0Shares

हेम–सरिता पाठक फाउन्डेसनका संरक्षक हेम पाठकले मुलुकमा गठन भएको अन्तरिम सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने विश्वास व्यक्त गरेका छन् । लामो समयदेखि गीत, संगीत, कविता, पत्रकारिता र सचेतनामूलक कार्यक्रममार्फत सुशासनको लागि काम गर्दै आएको फाउन्डेसनले जेन जी आन्दोलनलाई ऐतिहासिक मोडको रूपमा व्याख्या गर्दै अन्तरिम सरकारलाई स्वागत गरेको छ । पाठकसगको कुराकानी यहा प्रस्तुत छ

हेम–सरिता पाठक फाउन्डेसनले जेन जी आन्दोलनलाई कस्तो दृष्टिले हेर्छ ?
यो आन्दोलन नेपालकै इतिहासमा निर्णायक क्षण हो । निहत्था युवाहरूले रगतको हस्ताक्षर गरेर भ्रष्टाचारको जरो उखेल्ने अठोटका साथ सडकमा उत्रिए । उनीहरूको त्याग र सहादतले पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार जन्मियो । यो मात्र नयाँ पुस्ताको जीत होइन, पुरै मुलुकको लोकतन्त्र र सुशासनको जीत हो ।

अन्तरिम सरकारप्रति तपाईंको मुख्य अपेक्षा के हो ?
अबको सरकारले पहिलो काम भ्रष्टाचार नियन्त्रण र कानुनी जवाफदेहितामा देखाउनुपर्छ । जेन जीको आन्दोलनमा सहादत भएका युवाहरूलाई शहीद घोषणा गरेर उचित क्षतिपूर्ति दिनुपर्छ, घाइते आन्दोलनकारीलाई निशुल्क उपचार गर्नुपर्छ । आन्दोलनको क्रममा निर्दोष नागरिकको हत्या गराउने तत्कालीन जिम्मेवारहरूलाई कानुनी कारबाही गर्नुपर्छ ।

तपाईंहरूले सरकारलाई के–कस्तो सुझाव दिनुभएको छ ?
हाम्रो विज्ञप्तिमा दसवटा प्रमुख सुझाव छन् । संसद विघटन जस्तै अब संवैधानिक निकायहरूको पनि पुनर्संरचना आवश्यक छ । २०४६ सालदेखि सार्वजनिक पदमा रहेकाहरूको सम्पत्ति छानबिन गरेर भ्रष्टाचारबाट कमाएको सम्पत्ति जफत गर्नुपर्छ । त्यस्ता सम्पत्तिलाई शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्छ । नयाँ मन्त्रीहरू निडर, निष्कलड्ढ र पारदर्शी व्यक्तिहरू हुनुपर्छ ।

नोटबन्दीको मागबारे केही भन्न चाहनुहुन्छ ?
हो, हामीले रु.५०० र रु.१००० का नोट तत्काल बन्द गर्नुपर्ने माग गरेका छौं । यसले अवैध सम्पत्ति र काला धनलाई नियन्त्रण गर्न मद्दत गर्छ । साथै, बहाल हुने प्रधानमन्त्री, मन्त्री र सबै सार्वजनिक पदधारकले आफ्नो सम्पत्तिको विवरण र स्रोत सार्वजनिक गर्नुपर्छ, पदबाट हटेपछि पनि ।

यस आन्दोलनको दीर्घकालीन प्रभाव के देख्नुहुन्छ ?
यो आन्दोलनले नेपाली समाजमा चेतना जगाएको छ कि भ्रष्टाचार अब सहनशील विषय होइन । जेन जीले देखाएको साहसले भविष्यका नेताहरूलाई जवाफदेही र पारदर्शी हुन बाध्य पार्नेछ । यो केवल अन्तरिम सरकारको मुद्दा होइन, नयाँ पुस्ताले देखाएको बाटो हो ।

फाउन्डेसनको भावी भूमिका के हुनेछ ?
हामी गीत, कविता, पत्रकारिता र शिक्षा मार्फत सुशासनको अभियानलाई अझ बलियो बनाउनेछौं । अन्तरिम सरकारलाई सहयोग गर्दै, जनतामा सचेतना फैलाउने कामलाई निरन्तरता दिनेछौं । यो मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने हाम्रो सामूहिक जिम्मेवारी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *