भक्तपुरको सूर्यविनायक नगरपालिकाले आफूले निर्धारण गरेको शुल्क भन्दा बढी रकम लिएका विद्यालयहरुलाई कारबाही गर्न लिस्ट तयार गर्न थालेको छ। यसअघि नगरपालिकाले आफुले बनाएको संरचना कार्यान्वयन नगर्ने तथा अभिभावकबाट मनलाग्दी शुल्क असुल्ने संस्थागत (निजी) विद्यालयलाई कडा कारबाही गरिने चेतावनी दिएको थिए। अहिले नगरपालिका थुप्रै विद्यालयहरुको उजुरी आएको नगरपालिकाका श्रोतले प्रेस सोसाइटीलाई जानकारी दियो।
वर्षौंदेखि विभिन्न शीर्षकमा अतिरिक्त शुल्क उठाएर अभिभावकको ढाड सेक्ने प्रवृत्तिलाई नियन्त्रण गर्न नगरपालिकाले शुल्कको सीमा तोकेको र त्यसको अनिवार्य पालना गर्न निर्देशन दिएको हो।
नगरपालिकाले विद्यालयको स्तरीकरण गरी ‘क’, ‘ख’ र ‘ग’ श्रेणीअनुसार अधिकतम शुल्क निर्धारण गरेको छ। अब तोकिएकोभन्दा बढी शुल्क लिने, अतिरिक्त आर्थिक भार थोपर्ने वा नगरपालिकाको निर्णय अवज्ञा गर्ने विद्यालयमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने जनाएको छ।
नगरपालिकाले अभिभावक तथा सरोकारवालालाई शुल्कसम्बन्धी कुनै गुनासो, उजुरी वा जानकारी भए सम्बन्धित वडा कार्यालय वा नगरपालिकाको शिक्षा शाखामा जानकारी गराउन आग्रह गरेको छ। प्राप्त उजुरीका आधारमा आवश्यक छानबिन गरी दोषी पाइएमा सम्बन्धित विद्यालयमाथि कारबाही प्रक्रिया अघि बढाइने नगरपालिकाको भनाइ छ।

